काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले विपद्पछिको अवस्था र मुलुकको गम्भीर सङ्कटका बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् । प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्मा उपस्थित भई जवाफ दिन माग गरे । सांसद राईले भदौ १० गतेको विपद्पछि एक महिना दुई दिन बितिसक्दा पनि प्रभावितहरूले न्याय पाउन नसकेको र सरकारले पर्याप्त चासो नदेखाएको बताए ।

उनले उक्त विपद्मा परी ज्यान गुमाएका २१ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी र घाइतेहरूको उपचारमा सरकारले गम्भीरता नदेखाएको उल्लेख गरे । सरकारका पछिल्ला गतिविधिहरूलाई ‘केटाकेटी खेले जस्तो र लुकिछिपी’ शैलीको भन्दै सांसद राईले आलोचना गरेका हुन् ।
उनले भने, ‘घरी कसैलाई पक्रने र घरी छोड्ने जस्ता गतिविधिले सरकारको गम्भीरतामाथि प्रश्न उठाएको छ । कम्तीमा यस्ता संवेदनशील विषयमा सरकारले सिरियसली काम गर्नुपर्छ ।’
उनले मुलुकमा बढ्दो भोकमरी र आर्थिक अभावका कारण नागरिकहरू आत्महत्या गर्न बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । यस्तो परिस्थितिमा सरकार र सदनप्रति जनताको आक्रोश बढ्दै गएको भन्दै उनले सचेत गराए । आफूहरू प्रतिपक्षमा रहे पनि सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै उनले सरकारले जनताको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।














