काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ । सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाउन् र सवारी दुर्घटना न्युनिकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिइएको हो ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने जानकारी दिए । डीएसपी शाहकाअनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ भने भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रस्ताव गरिएको छ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ, जसले यात्रु र यातायात व्यवसायीबीच हुने विवाद कम गर्ने अपेक्षा गरिएको छ ।
टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्नेमा उनले जोड दिए । यसले टिकट काट्ने व्यक्ति कुन समितिसँग आवद्ध छ भन्ने स्पष्ट हुने र कुनै समस्या आएमा अनुगमन गर्न सहज हुने प्रहरीको भनाइ छ ।
सवारी दुर्घटना न्युनिकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा परिवर्तन आवश्यक रहेको बताउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकहरूलाई मात्र खटाउन सुझाव दिए । यदि अपरिचित मार्गमा नयाँ चालक पठाउँदा सडकको खाल्डाखुल्डी र मोडबारे जानकारी नहुँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।
दसैँको समयमा सबैभन्दा बढी सवारी चाप हुने कलङ्की-नागढुङ्गा खण्डलाई लक्षित गर्दै प्रहरीले विशेष रणनीति तयार पारेको छ । चाडपर्वको ४ दिन अगाडिदेखि हुने अत्यधिक ट्राफिक दबाबलाई व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरिने उनले बताए ।














