
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले संघीय सरकारले संविधान बमोजिम प्रदेश सरकारको जिम्मामा रहेका खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारलाई सशर्त अनुदान दिए पनि त्यसको प्रगति विवरण पठाउन नसक्दा समस्या जटिल बन्दै गएको बताएका छन् ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको २६ औं वार्षिकोत्वस कार्यक्रमको मङ्गलवार उद्घाटन गर्दै मन्त्री चौधरीले मुलुक संघीयतामा गएपछि तीन तहका सरकारलाई संविधानले जिम्मेवारी निर्धारण गरेकाले प्रदेश सरकारलाई संघीय सरकारले अनुदान दिए पनि दू्रत गतिमा खानेपानीका आयोजना सम्पन्न हुन नसकेको बताए । ‘देशभरका ७७ वटा जिल्लामा कार्यालय रहेको खानेपानीका हाल २० वटा मात्र संघीय आयोजनाबाट शुद्ध खानेपानीको व्यवस्थापन गर्न मन्त्रालयलाई समस्या भएको छ’, मन्त्री चौधरीले भने, ‘मुख्य राजमार्ग, धार्मिकस्थल, तराईका हाट बजारमा शौचालय निर्माणको क्षेत्रलाई व्यापकता दिनुपर्ने जिम्मेवारी मन्त्रालयको काँधमा छ ।’
एक अर्को प्रसंगमा मन्त्री चौधरीले खानेपानीको गुणस्तर परीक्षणलाई व्यापकता दिन नसक्दा निर्माण सम्पन्न भएका देशभरका ६ सय होभरहेड टैंकीमध्ये करिव ४ वटा सञ्चालनमा नआएका बताए । सरकारले अर्बौं रुपैयाँ लगानी गरेका आयोजनामा ३० प्रतिशतसम्म श्रमदान गर्नै पर्ने प्रावधानले आयोजना पूरा हुन नसकेको उनले बताए । श्रमदान गर्नै पर्ने प्रावधानलाई हटाउने प्रक्रियामा सरकार लागेको जानकारी गराउँदै मन्त्री चौधरीले विगत २६ वर्षदेखि ग्रामीण क्षेत्रका २८ लाख समुदायलाई खानेपानीको सुविधा प्रदान गर्न सकेको समितिलाई लगानी गर्दै आएको विश्व बैंकले हात झिके पनि सरकारले स्रोत सुनिश्चित गरेर पानीको मुहान र स्रोत संरक्षणको जिम्मेवारी समितिलाई दिने बताए ।
खानेपानीको गुणस्तर परीक्षण र खुल्ला दिशामुक्त क्षेत्रको दीगोपनका लागि समितिलाई जिम्मेवारी दिन सकिने भन्दै मन्त्री उनले एक घर, एक धाराको सरकारको नीति र लक्ष्य पूरा गर्न समितिले खेलेको भूमिका सह्राहनीय रहेको बताए । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले कोषले विगत २६ वर्षमा आधारभूत र ग्रामीण क्षेत्रका एक लाख ८८ हजार घरधुरीका परिवारलाई तीन हजार तीन सय ४३ आयोजना सम्पन्न गरी खानेपानीको सुविधा प्रदान गरेको बताए । सचिव आचार्यले एक सय ३७ वटा शौचालय निर्माणका आयोजना सम्पन्न गरी कोषले काम गरेको भन्दै प्रत्येक नगरपालिकामा ढल व्यवस्थापन आयोजना सञ्चालन गर्न कोषलाई जिम्मेवारी दिने बताए ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले कोषले ३६ सय खानेपानी आयोजनाबाट ग्रामीण क्षेत्रका २८ लाख नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गरेको भन्दै वित्त व्यवस्थापन गरेर भए पनि कोषलाई निरन्तरता दिनुपर्ने बताए । मन्त्रालयकी सहसचिव मीना श्रेष्ठले दातृ निकायको सहायतामा परनिर्भर हुँदा कोष बन्द हुने अवस्था आएको भन्दै आफ्नै स्रोत, योजना र कार्यक्रम दीर्घकालिन रुपमा सञ्चालन गर्नेगरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । कोषका कार्यकारी निर्देशक सञ्जयकुमार मिश्रले खानेपानी र सरसफाईका लागि सरकारले लिएको लक्ष्यलाई पूरा गर्न कोषले जिम्मेवारी पूरा गरेको भन्दै विश्व बैंकले सहायता दिन छाडेपछि कोषमा आर्थिक स्रोत ज्यादै न्यून भएको बताए ।














