
काठमाडौं । स्थानीय निर्वाचन आउन दुई महिना बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नितान्त प्राविधिक विषयमा अल्मलिएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा ठूलो उत्साहका साथ चुनावमा होमिएको नेकपा एमाले अहिले हतोत्साही बन्दै मतपत्रको रङजस्तो सामान्य प्राविधिक विषयमा अल्झिएको छ । यसैबाट एमालेको मनोविज्ञान बुझ्न सकिन्छ ।
आगामी वैशाख ३० गतेको चुनावमा निर्वाचन आयोगले मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णय गरेपछि एमालेले रुख रंगको हरियो चुनाव चिन्हलाई जिताउन संवैधानिक अंगको दुरुपयोग भएको गम्भीर आरोप लगाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको रङ हरियो बनाएर आयोगले ‘बुढो रुखलाई बचाउन लागेको’ आरोप लगाएका हुन् । उनले आयोगलाई निर्णय सच्याउन चेतावनीसमेत दिएका छन् । ओलीले अघिल्ला निर्वाचनमा फरक–फरक रङ प्रयोग भएको भुलेर होइन, जनतालाई अल्मल्याउने अस्त्रको रुपमा हरियो रंगको मतपत्रलाई लिएर बखेडा झिकेका हुन् ।
कांग्रेसले ओली कार्डको भ्रममा नपर्न आह्वान गरिसकेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विभाजित एमाले हरियो रङदेखि तर्सिएको जिकिर गरेका छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा ठूलो उत्साहका साथ चुनावमा होमिएको नेकपा एमाले अहिले हतोत्साही बन्दै मतपत्रको रङजस्तो सामान्य प्राविधिक विषयमा अल्झिएको छ । यसैबाट एमालेको मनोविज्ञान बुझ्न सकिन्छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले भनेका थिए– ‘एउटा पुरानो उखान छ, साउनमा हरियो देखेपछि सधैँ हरियो देख्ने, त्यस्तै अहिले विभाजित कम्युनिस्ट पार्टी हरियो रङ देख्दा तर्सिन्छ । यस्तो नयाँ उखानजस्तो मनस्थिति प्रकट नगर्नु जाति हुन्छ । म आदरसाथ आग्रह नै गर्दछु । बहस सिद्धान्त र मुद्दाको गरौं, हाम्रो ढंग ठीक बनाऔं, मतपत्रको रंगले तब कसैलाई पोल्दैन । अन्यथा, भोलि हरियो सागपात के गर्ने ? पर्सि आँगनको बोट बिरुवा कसो गर्ने ?’
यसअघि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ओलीको भनाइप्रति लक्षित गर्दै व्यंग्य गरेका थिए, ‘वन हरियो हुन्छ, त्यो पनि फडानी गर्नु !’
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चा मात्र होइन, प्रतिपक्षीमा रहेका अन्य दलले समेत रङको राजनीतिक गरेका छैनन् । राजनीति र निर्वाचन अभ्यास बुझेकाले त मतपत्रको रङबारे प्रश्न उठाउने कुरै भएन । जिम्मेवार राजनीतिक दल एजेण्डामा चल्छ, रंगमा होइन ।
ओलीले प्रश्न उठाएपछि आयोगले अघिल्ला निर्वाचनमा पनि हरियो, नीलो, रातो र कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको अभ्यास भइरहेको स्मरण गराएको छ । ‘मतपत्र संकेत गर्ने मसी, निर्वाचन चिह्न, मतपत्रमा हुने रेखा र क्रमसंख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत संकेत स्पष्ट नभएको मात्र होइन, मतगणनामा सजिलो होस्, मतपत्रमा गरिएको मत संकेत स्पष्ट देखियोस् भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसंख्या राख्ने निर्णय गरेका हौँ’ आयोगले आफ्नो निर्णयबारे स्पष्ट पारेको छ ।
तर, पछिल्लो पटक दुई तिहाईको केन्द्रीय सरकार र प्रदेश सरकार मात्रै होइन, अधिकांश स्थानीय तहमा विजयी भए पनि चुनावी वाचा पूरा गर्न पूरै असफल भएको एमालेले रङको विषय उठाइरहेको छ । निर्वाचन जित्न मतपत्रको रङ र चुनाव चिह्नभन्दा दलका एजेन्डा घोषणापत्र महत्वपूर्ण हुन्छ ।
असंवैधानिक कदम चालेको, व्यवस्था नै समाप्त पार्ने खेलमा लागेको, महंगी, विकृति, विसंगति र भ्रष्टाचारको आहालमा डुबेको, जनजीविकाको सवाल भुलेको, देश निर्माणको ऐतिहासिक अवसर ओलीको दम्भका कारण गुमेकोजस्ता दर्जनौँ प्रश्नलाई ओझेलमा पार्न सकिन्छ कि भनेर ओलीले रङको विषय झिकेको राजनीतिक विश्लेषकहरू दाबी गर्छन ।
राजनीतिक विश्लेषक लोकराज बराल एमाले र कांग्रेसको ‘रङ’ बहस औचित्यहिन भएको टिप्पणी गर्छन । राष्ट्रिय र स्थानीय मुद्दाहरूमा बहस हुनुपर्नेमा प्राविधिक विषय उठाएर चुनावलाई गैरराजनीतितर्फ मोड्न खोजेको बरालको विश्लेषण छ ।
रङको विषयमा बहस गर्दै गर्दा स्थानीय तहका जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटो, खानेपानीजस्ता विषयमा कति काम गरे भन्ने समीक्षा गर्ने बुद्धि पलाएको छैन । दलहरू जतिसक्दो धेरै स्थानमा विजयी हुने गरी गठबन्धन वा तालमेल गर्ने नीतिसहित अगाडि बढेका छन् । तर, अझै कस्तो समिकरण बन्छ भन्ने टुंगो लागिसकेको छैन् ।
स्थानीय चुनावमा दुई गठबन्धन बन्नेतिर अभ्यास भइरहेका छन् । अग्रगमन पक्षधरको सत्तारुढ गठबन्धन र प्रतिगमनपक्षधरको राप्रपा, लोसपासहित एमाले गठबन्धन बन्ने चर्चा व्याप्त छ । दलहरू सोहीअनुसार विभिन्न बैठक र छलफलमा जुटिरहेका छन् ।














