
गोरखा । प्रहरीले जुवाको खालबाट झण्डै चार लाख रुपैयाँ नगदसहित १९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बारपाक सुलिकोट गाउँपालिका–३ सौरपानीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नगदसहित पक्राउ गरेको हो ।
जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय जौवारीको टोलीले पक्राउ गरेका उनीहरु १९ देखि ७५ वर्ष उमेर समूहका रहेका जनाइएको छ । प्रहरीका अनुसार बिहीवार राति १ बजे स्थानीय सीताकुमारी आले मगरको घरको आँगनबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले १६ थान कौडा र ३ लाख ९० हजार रुपैयाँ नगद बरामद गरेको बताइएको छ ।
भीमसेन थापा गाउँपालिका–५ का बुद्धिप्रसाद पोखरेल, रामप्रसाद पौडेल, होमबहादुर सार्की, कमलबहादुर सुर्खेती, रन्जन पोखरेल, सन्तमान गुरुङ, कृष्ण श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ र वडा नम्बर ७ का रामबहादुर बराम पक्राउ परेका छन् । प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का फेनबहादुर घले, ३ का धनबहादुर तामाङ, बिशाल आले, ४ का बीरबहादुर गुरुङ र लालबहादुर गुरुङ पनि पक्राउ परेका छन् ।
सिरानचोक गाउँपालिका–९ का मंगल विक, धार्चे गाउँपालिका–४ का तिजमान गुरुङ, अजिरकोट गाउँपालिका वडा नम्बर ३ का विष्णु अधिकारी, वडा नम्बर ४ का रत्नमान गुरुङ र वडा नम्बर ९ का सुकबहादुर घले पनि पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत आज मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।












