
मोरङ । जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न दोस्रो पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको उपाधि द रियल ब्रदर्श फुटबल क्लबले जितेको छ । हिजो सम्पन्न खेलमा न्यू स्टार फुटबल क्लबलाई १ का विरुद्व २ गोल गर्दै रियलले उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफको इञ्जुरी समयमा न्यू स्टारका सन्देश केसीले अग्रता लिए । खेललाई बराबरीमा ल्याउने क्रममा रियल ब्रदर्शका समिर याख्खाले ४६ औँ मिनेटमा गोल गरेका हुन् । खेलमा बराबरी गरेको २ मिनेट बित्न नपाउँदै रियलका लागि अंकित लिम्बूले हेडमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको २८ औँ मिनेटमा न्यू स्टारले पेनाल्टी प्रहारको अवसर पाए पनि टीम कप्तान सुरेन्द्र आङ्देम्बे गोल गर्नबाट चुकेका थिए । खेलको म्यान अफ दी म्याच विजेता टिमका विशाल पाण्डे घोषित हुँदै नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेता द रियल ब्रदर्शले नगद २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता न्यू स्टारले १ लाख ५१ हजारमा चित्त बुझाएको छ ।प्रतियोगीताको सर्वोउत्कृष्ट खेलाडी रियलका धिरेन विष्ट घोषित भए । प्रतियोगीताको उत्कृष्ट डिफेन्स रियलका दिलिप धिमाल, उत्कृष्ट फर्वाड रियलकै अंकित लिम्बू बने भने उत्कृष्ट गोल रक्षकको उपाधि रियलका रोजन धिमालले पाए । त्यस्तै उत्कृष्ट मिड फिल्डर न्यू स्टारका दिपेन माझी भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता न्यू स्टारका जुनियर साँवा बने । प्रतियोगिताको उदयीमान खेलाडी शिखर एफसीका गोल रक्षक समिर कटुवाल घोषित भए भने उत्कृष्ट प्रशिक्षक विजेता टीमका प्रशिक्षक सागर कार्की बने । प्रतियोगिताको फेयर प्ले टीमको उपाधि भने सिरिजङ्घा एफसीले पाएको छ ।
विधागत पुरस्कार राशी ७ हजार ५ सय रुपैयाँ रहेको थियो भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय रुपैयाँ प्राप्त गरे । यस्तै फेयर प्ले टीमले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ । लिगमा वाइजिएफटी, शिखर फुटबल क्लब, टेन नवोदय, वाइएफसी, देविगञ्ज फुटबल क्लब, न्यू स्टार फुटबल क्लब, द रियल ब्रदर फुटबल क्लब र सिरिजङ्घा फुटबल क्लबको सहभागिता रहेको थियो । पथरी शनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिको आयोजनामा भएको खेलको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गरेको थियो ।











