
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन् ।
थापाथली इञ्जिनियरिङ क्याम्पसको ५६ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युग सुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरुको सवलिकरणमा ध्यान दिनुपर्यो ।’ देश सुरुङमार्ग, लिफटिङ सिंचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै उनले इञ्जिनियरलाई गम्भीर हुन आग्रह समेत गरे ।
‘जाँदा पिच भएको बाटो फर्किँदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिर्नुपर्यो ।’ पूर्वाधार निमार्णमा इञ्जिनियरको बढी भूमिका रहेको चर्चा गर्दै उनले सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । ‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ मन्त्री पौडेलले भने, ‘यसका लागि दक्षजनशक्ति चाहिन्छ ।’ विभिन्न चरणमा भएका सम्झौता अहिले कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले यसवर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचना बन्ने बताए ।
कार्ययोजना, दक्षता, लगनशिलता, अनुशासित र ऊर्जाशील भएमात्रै नवीनतम् नतिजा दिन सकिने मन्त्री पौडेलको भनाइ थियो । आफ्नो अधिकारको खोजी मात्रै गरेर नहुने भन्दै उनले कतव्र्य पनि भूल्न नहुनेमा जोड दिए ।












