काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेकामा असन्तुष्ट सिनियर डीआईजी लोकसेवा आयोगमा उजुरी दिएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले यही १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो । तर, हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।
डीआईजी ईश्वरबाबु कार्कीले आफू उजुरी दिन लोकसेवा आयोगमा उजुरी दिएको र आफू अदालत समेत जाने बताएका छन् । बढुवा सिफारिसविरुद्ध डीआईजीहरु घनश्याम अर्यालसहित केही डीआईजी पनि लोकसेवा आयोगमा उजुरी दिने तयारीमा रहेका छन् ।
यसअघि यादव अधिकारी, पर्शुराम खत्रीलगायतका चार डिआइजीले पनि एआइजी बढुवामा अन्याय भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दा फैसला हुँदा उनीहरुलाई सरकारले एआइजी बढुवा गर्न बाध्य भएको थियो । अहिले पनि सो नजिर दोहोरिन सक्ने सम्भावना रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा परेका थिए । दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयल जनाएको थियो ।











