Logo
Logo

गृहका सहसचिव हैरान



काठमाडौं । गृह मन्त्रालयका करिब एक दर्जन सहसचिव र उपसचिवहरू जिम्मेवारीबिहीन छन् । उनीहरू हरेक दिन मन्त्रालय गएर हाजिर लाउने, केही घन्टा चिया गफ गर्ने र फर्कने गरेका छन् ।

त्यही मन्त्रालयमा केहीलाई भने दोहोरो जिम्मेवारी दिइएको छ । फणिन्द्रमणि पोखरेल यस्ता भाग्यमानी सहसचिव हुन् जसलाई गृहमन्त्री बालकृष्ण खाणले शान्ति सुरक्षा र प्रशासन महाशाखा दुवैको जिम्मेवारी दिएका छन् । जबकी, चुनावको तयारीको बेला एउटै महाशाखाको काम भ्याउनसमेत मुस्किल हुने अवस्था छ । अझै शान्ति सुरक्षा महाशाखाको प्रमुख त दिनमा १८ घन्टासम्म खटिनुपर्ने हुन्छ ।

तर, सहसचिव पोखरेलको ध्यान भने प्रशासन महाशाखातर्फ धेरै छ । यसको मुख्य स्वार्थ बढुवाको चलखेल हो । प्रशासन महाशाखाका प्रमुख प्रहरीका विभिन्न पदका बढुवा समितिमा रहन्छन् । सहसचिव पोखरेल गृहमन्त्रीका सबैभन्दा विश्वासपात्र मानिन्छन् । सोही कारण उनलाई दुवै महाशाखाको जिम्मेवारी दिइएको स्रोत बताउँछ ।

तर, प्रहरीको बढुवामा सहसचिव पोखरेल आफैं हैरान भइसकेका छन् । सशस्त्र प्रहरीमा हालै थपिएका एक सय १२ पदमा बढुवाका लागि पटक पटक प्रयास गरेपनि सहमति हुन सकेको छैन । बढुवा समिति बैठक बस्न पोखरेल सशस्त्र प्रहरी मुख्यालय हलचोक पुगे पनि बढुवाको सूचीमा सहमति नहुँदा यसरी बैठक नै बस्न नसकेको हो ।

अवकाश पाउन लागेका महानिरीक्षक खनाललाई दबाब दिएर गृह मन्त्रालयले बढुवा गर्न खोजेको छ । तर, महानिरीक्षक खनाल त्यसमा तयार छैनन् । यस्तो विवादले १७ वर्षदेखि एउटै पदमा कार्यरत इन्सपेक्टरहरू झन् मर्कामा परेका छन् ।

बढुवामा अर्काेतर्फ आर्थिक चलखेलको समेत संकेत देखिएको स्रोत बताउँछ । गृहमन्त्री निकट केही व्यक्तिहरूले खासगरी सशस्त्र प्रहरीका डिएसपी र एसपीसँग यसरी लाभ लिइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्