Logo
Logo

सलमानलाई हेर्न एउटै टिकटको २५ हजार रुपैयाँ



काठमाडौं । बलिउड अभिनेता सलमान खानको काठमाडौंमा हुने कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले जानकारी दिएको हो ।

कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गर्ने बताइएको छ । आयोजकका अनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन् । यी टिकट चाँडै नै स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिनेछ । कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ । एक दर्जन हाराहारीका नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहनेछ ।

त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ । यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजिएपनि कोरोनाका कारणले नसकिएको भन्दै आयोजकले पुनः दर्शकको चाहनालाई पूरा गर्न लागिपरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ । कार्यक्रममा पर्यटन मन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच भिडियो कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्