काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।

उनले आफ्नो शक्ति बलियो भए मात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए ।
उनले भनेका छन्, ‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरुसँगको तालमेलको कुनै अर्थ रहन्छ । अरुको सहारमा चुनाव जित्ने कुरा नसोच्नुहोस् । हाम्रो शक्तिको जगमा उभिएर नै अरुको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ । स्थिति कमजोर छ भने अनावश्यक रुपमा दावा गर्ने काम पनि गर्नु हुँदैन । फेस मूल्याङ्कन गर्नुपर्छ । लोकप्रिय व्यक्ति चाहिन्छ । पार्टीको नीतिहरु दरोसँग अवलम्वन गरेर अघि बढ्ने मान्छे चाहिन्छ ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीदवय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे । उनले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए ।
अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पर्ने बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए । उनले थप भने, ‘तपाईको र एमालेको पार्टीमा के फरक छ कमरेड ? तपाईका दुई मन्त्रीहरु एमालेमा जान लाग्नुभएको हो कमरेड ? अरु पार्टी र तपाईको पार्टीमा के फरक छ र तपाईलाई जिताउने कमरेड ? भनेर धेरै प्रश्नहरु उदाहरणको निम्ति एउटा प्रचार गरिएछ, दुई मन्त्री प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठमध्यरातमा बालकोट पुगेछन्, केपी ओलीसँग गोप्य वार्ता गरेछन्, अब उनीहरुको टिकटबाट चुनावमा लड्ने रे । त्यसले कतिपय हाम्रा कमरेडहरुको निन्द्रा खराब ।’
यसका साथै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत् नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । उनले आफूले त्यसको बिरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए ।
अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारीता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘एमसीसीको कुरा गर्ने हो भने इण्डोप्यासिफिकको अंग हुने कुरा ल्याउने को हो ? केपी ओली, उनको को मन्त्री प्रदीप ज्ञवाली, कुन मिति हेर्नुहोस् । हामीले डकुमेण्ट दिएका छौँ । त्यसको बिरोध गर्ने को ? हामी । बिरोध गरिसकेपछि अमेरिकाले हिजो अंग भनेको थियो अहिले काट्यो । त्यही पनि केपी ओलीको कुरा ठूलो । जनताको बहुदलीय जनवाद व्यक्तिवादको सिद्धान्त हो ? निरंकुशताको सिद्धान्त हो ? एक व्यक्तिको आधिपत्यको सिद्धान्त हो ? होइन यो कमिटी प्रणाली हो । सामुहिकताको सिद्धान्त हो । लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसातीकरण हो ।’











