काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
सडक धुलाम्यै भएकाले घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै बिहीबार बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् ।

त्यस्तै, थली सडकखण्डमा सन्चालन हुने सबै सवारी साधनहरूलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । यस्तै, ललितपुरको सातदोबाटो–चापागाउँ सडकखण्डमा पनि स्थानीयले यातायात अवागमन अवरुद्ध पारेका छन् । सडक कालोपत्रे गर्न माग गर्दै स्थानीय सो सडकखण्ड केही दिन यतादेखि नै अवरुद्ध पार्दै हुन् ।
चिबहाल र सुनाकोठीमा बाँसका भाटा तेर्स्याएर स्थानीयले सडक बन्द गराउँदा सवारी आवागमन प्रभावित भएको छ ।
सडक अवरुद्ध भएपछि सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।














