Logo
Logo

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै


3.7k
Shares

काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउने भएका छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुुसार भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने तय छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उनी विशिष्ट व्यक्ति हुन् । नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत छ । चीनको राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङ यीको औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहेका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुन् । उनी यसअघि २०७६ साल भदौ महिनामा पनि नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्