
मोरङ । प्रदेश नम्बर १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरबीच भेटवार्ता भएको छ ।
यसअघि पुस १ गते भेटवार्ता गरेका उनीहरुबीच हिजो दोस्रो पटक द्विपक्षीय हितका बारेमा भेटवार्ता भएको हो । दोस्रो भेटघाट वार्ताका क्रममा राजदूत भोन क्याप्लरले पहिलेकै भेटघाटको निरन्तरतास्वरुप स्वीस सहायतामा सञ्चालित परियोजनाबारे थप छलफल र समीक्षा गर्न चाहेको उल्लेख गरिन् । त्यसक्रममा प्रदेश नं १ सरकारले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुशी व्यक्त गरिन् ।
विकास साझेदारहरूमध्ये आफूहरू सम्भवतः प्रदेश सरकारसँग धेरै प्रगाढ र नजिकको सम्बन्धमा रहेर साझेदारीमा काम गर्न पाएकोमा उनले थप प्रशन्नता व्यक्त गरिन् । राजदूत क्याप्लरले प्रदेश नं १ मा लगभग २ अर्ब बराबरको सहयोग कार्यक्रम सञ्चालन भएको बताउँदै ती कार्यक्रमबारे प्रदेश सरकारको पृष्ठपोषणको अपेक्षा रहेको उल्लेख गरिन् । भेटघाटका क्रममा मुख्यमन्त्री राईले स्वीस परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको मसिनो ढंगले अध्ययन गरी नसके पनि सो परियोजना प्रदेश नं १ का लागि एकमात्रै वैदेशिक सहयोगको कार्यक्रम भएको बताए ।
उनले सहयोग र सहकार्य निरन्तर हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राईले संघीय प्रणाली लागू भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सरकारलाई अझै पनि अनुभवको कमी रहेको बताए । उनले जनताको अपेक्षाअनुसार पर्याप्त बजेट अभाव अहिले चुनौतीको रुपमा रहेको बताए ।










