
काठमाडौं । नेपाली कांग्रेसले दुई भ्रातृ संगठनमा गरेको अध्यक्ष मनोनयनप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन हुने भएको छ । पार्टीले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयन गरेपछि असन्तुष्टि राख्दै आएका पक्षले प्रदर्शन गर्न लागेका हुन् ।
मनोनयनको विपक्षमा उभिएको सो पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शनको तयारी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले गत बुधवार नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । त्यसपछि असन्तुष्ट बनेका शेखर कोइराला निकट विद्यार्थी नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शनको तयारी गरेका हुन् । पार्टी सभापतिले एकलौटी ढंगले नेविसंघ र तरुण दलमा अध्यक्ष नियुक्त गरेपछि गम्भीर असहमति जनाउँदै आज दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालयमा प्रदर्शन गर्न लागिएको पूर्व केन्द्रीय सदस्य प्रेमिका रानामगरले बताइन् ।
कोइराला पक्षधरको हिजो साँझ बालुवाटारमा बसेको अनौपचारिक भेलापछि आज बस्न लागेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि नै प्रदर्शन गर्ने निर्णय भएको उनले जानकारी दिइन् । सो बैठकमा कोइराला, चन्द्र भण्डारी, गुरुराज घिमिरे, केशव सिंह, प्रतिमा गौतम, मनोजमणि आचार्य, गोविन्दराज पोखरेललगायत नेविसंघ र तरुण दलका पूर्वपदाधिकारीहरू सहभागी थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजेबाट सुरु हुँदैछ ।












