बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्न माग गरेको छ । आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति कार्यान्वयन गर्न कांग्रेसले माग गरेको हो ।
प्रदेशसभा संसदीय दलको वैठकले सर्वसम्मत निर्णय गरी कांग्रेसले नेतृत्व पाउनुपर्ने भद्र सहमतिअनुसार पार्टी सभापति शेरबहादुर देउवासमक्ष डेलिगेसन जाने निर्णय गरेको छ ।

गत २७ साउनमा एमाले नेता शंकर पोखरल नेतृत्वको सरकार विस्थापित गरी नेकपा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउँदा कांग्रेससँग ८-८ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन नभएपछि कांग्रेस संसदीय दलको वैठकले नेतृत्व लिन केन्द्रीय नेतृत्वसँग अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताएका छन् ।
उनले पूर्वसहमति कार्यान्वयनका लागि पहलकदमी लिन पार्टी सभापति शेरबहादुर देउवासँग अनुरोध गर्ने निर्णय भएको बताए । प्रमुख सचेतक खानले संसदीय दलको बैठकको निर्णय सभापति देउवालाई बुझाउन नेता वीरेन्द्र कनौडिया आइतबार काठमाडौं जाने बताए । आलोपालो सहमति कार्यान्वयन भएमा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्नेछन् ।
लुम्बिनीमा माओवादी केन्द्रका, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदसहित गठबन्धन सरकार छ ।











