Logo
Logo
कला

‘हामी नेपाली फेसनका धनी छौँ’



केही समयअघि काठमाडौंमा एउटै स्टेजमा १४४ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए । कार्यक्रम थियो– ड्रेस टु इम्प्रेस–४ । आईआईएफटी (स्कुल अफ फेसन)ले आयोजना गरेको उक्त प्रतिस्पर्धामा चार जना उत्कृष्ट ठहरिए, त्यसमध्येकी एक हुन्, सुनिता खड्का । प्रतिस्पर्धीलाई ‘लक्की-ड्र’मार्फत थिम रोज्न लगाइएको थियो, जसमा सुनितालाई परेको थियो, ‘डेनिम थिम’ । यो थिम ८० को दशकतिर चलनमा आएको हो, जसको विशेषता महिलालाई केहीहद भएपनि बलात्कारबाट सुरक्षित गराउनु हो । त्यही थिममा उत्कृष्ट ठहरिएपछि सुनिताले सुनाइन्, ‘उत्कृष्ट फेसन डिजाइनर बन्ने मेरो लक्ष्य र उद्देश्य हो ।’ सहर केन्द्रित युवा जमात र सोसल मिडियाको बढ्दो क्रेजले फेसन बजारलाई फराकिलो बनाउँदै लगेको डिजाइनर सुनिताको बुझाइ छ । उनै सुनितासँग एमपी सुब्बाको जम्काभेट :

उत्कृष्ट डिजाइनर उपाधि जित्दा कस्तो महसुस भयो ?
खुसी नहुने कुरै भएन । फेसन डिजाइनर बन्ने लक्ष्य लिएर हिँडेकी मलाई यो उपाधिले थप उर्जा र हौसला मिलेको छ ।

फेसनकै कुरा गर्दा ‘डेनिम थिम’बारे सुन्नुभएको थियो ?
सुनेको थिइनँ । जब ‘डेनिम थिम’मा पहिरन तयार गर्नुपर्ने अवस्था आयो, त्यसपछि युट्युब र गुगलमा रिसर्च गरेँ । लेदर र डेनिमले बनेको डेनिम थिमको पहिरन युरोप र अमेरिकामा १९८०-९० को दशकतिर निकालिएको रहेछ । त्यो समयमा महिलाहरू बढी बलात्कृत हुने भएकाले केहीहद भएपनि बलात्कारबाट सुरक्षित गर्न यो थिम अपनाइएको रहेछ ।

नसुनेको थिममा पहिरन तयार गर्न गाह्रो भएन ?
खाशै गाह्रो भएन । उक्त थिमबारे एउटा सांगीतिक ब्याण्डले गीत पनि बनाएको छ । ‘सक्सन’ नामको रकब्याण्डले ‘डेनिम थिम’को ड्रेसबारे गीत गाएको छ । म उक्त ब्याण्डको फ्यान हुँ । मलाई मनपर्ने ब्याण्डले गाएको थिममा ड्रेस बनाउन पाउँदा खुसी लाग्यो । मैले त्यो ब्याण्डलाई नै डेडिकेटेड गरेर ड्रेस बनाएकी हुँ । र, जर्जहरूलाई इम्प्रेस गर्न पनि सफल भएँ ।

नेपाली फेसन बजारमा ‘डेनिम थिम’लाई प्रवद्र्धन गर्न सकिन्छ ?
पक्कै सकिन्छ । वास्तवमा यो थिमको पहिरन नेपालीका लागि आवश्यक छ । किनकि, यो पहिरन बार्है्र महिना अर्थात सबै सिजनमा लगाउन मिल्छ । त्यस्तै, आर्थिक अवस्था कम भएकाको पनि यसमा पहुँच पुग्छ ।

कतिपयले नामै सुनेको हुँदैन । त्यसमा के गर्न सकिन्छ ?
त्यो हामीजस्ता डिजाइनरहरूले प्रमोट गर्ने हो । एकैपटक सबै कुरा कसैलाई थाहा हुन्न । नेपालमा भर्खरै फेसन बजार विस्तार हुँदैछ । सोसल मिडियाले गर्दा नेपालीहरू फेसन कन्सस हुन थालेका छन् । यस्तो अवस्थामा सबै किसिमका पहिरनहरू बन्दै जान्छ । अरु थिममा पहिरनजस्तै डेनिम थिमलाई पनि नेपालमा स्थापित गर्न सकिन्छ ।

फेसन डिजाइनर र बुटिकहरू बढिरहेका छन् । तपाईँ फेसन डिजाइनिङमा स्कोप देख्नुहुन्छ ?
नेपालमा अझैपनि फेसन डिजाइनिङ नौलो छ । यहाँ डिजाइनर भनिन्छ, तर आफ्नो क्रियशन कम हुन्छ । फेसन डिजाइनरले बजारलाई फलो गर्ने हो, त्यसमा आफ्नो क्रियशन हुन जरुरी छ । अर्को कुरा, नेपालमा दिनदिनै फेसनको स्कोप बढ्दै गएको छ । सबैले लुगा लगाउनैपर्छ । त्यसमा पनि राम्रो चाहिन्छ । त्यसैले पनि फेसन डिजाइनरहरू नयाँ–नयाँ क्रियशन पस्कन सक्यो भने स्कोप राम्रो छ ।

अहिले चलिरहेको ट्रेण्डलाई फेसन भन्न सकिन्छ ?
आफूलाई सुहाउने र कम्फटेवल लाग्ने नै फेसन हो । त्यसैले जसले जे लगाएको हुन्छ, त्यो नै फेसन हो । त्यसमा डिजाइनिङ गरेको नहुन सक्छ । फेन्सी र डिजाइनिङ फेसनमा केही भिन्नता छ, तर सबै फेसन नै हो । त्यसमाथि नेपाल बुहुजाती तथा बहुसांस्कृति भएको देश हो । यहाँ हरेक जातजातीको पहिरन छ । वास्तवमा भन्ने हो भने हामी नेपाली फेसनका धनी छौँ ।

तपाईँले फेसनको परिभाषा दिनुपर्दा ?
मानसिक र वातावरणको कम्बिनेशन हो फेसन । फेसनले सिजनलाई कोड गर्छ ।

तपाईँ कसरी यो क्षेत्रमा लाग्नुभयो ?
सानैदेखि फेसनप्रति रुची राख्थेँ । जुनबेला फेसन के हो भन्ने बुझेकी थिइन् । तर, अरुभन्दा फरक र भिन्न लगाउन रुचाउँथे । अन्ततः त्यो नै फेसन रहेछ । फेसनप्रति बुझ्दै गएपछि यो क्षेत्रमा लागेकी हुँ ।

फेसनेवल भएकै कारण फेसन डिजाइनर बन्नुभएको हो ?
त्यसो भन्दा फरक पर्दैन । फेसनेवल नभए फेसन कसरी बुझ्नु । त्यसैले आफैँ पनि फेसन गर्छु । त्यसमा सबै डिजाइनिङ हुनुपर्छ भन्ने छैन । आफूलाई सुहाउने क्याजुअल र फेन्सी पनि लगाउने गरेकी छु ।

प्रतिक्रिया दिनुहोस्