
काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा आगलागी हुँदा एक जना घाइते भएका छन् भने १३ वटा घर जलेर नष्ट भएको छ ।
उक्त गाउँपालिका ५ हरकठवामा हिजो साँझ आगलागी हुँदा भाग्ने क्रममा लडेर एक जना घाइते भएका र १३ जनाको १३ वटा घर जलेका हुन् । आगलागीबाट सिलिण्डर ग्याँस पड्किँदा भाग्ने क्रममा घाइते भएका ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाहलाई उपचारका लागि नवलपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।
प्रहरीका अनुसार आगलागीबाट प्रदीप हजरी, भुमेशवर कानु, ताहिर हजारी, रामबली पासवान, सितल हजारी, भिखारी पासवान, राम बिश्वास हजारी, बिकाउ हजारी, नन्द किशोर पासवान, गगन हजारी, सरप लाल हजारी र रामनाथ हजारीको एक/एक वटा घर जलेका हुन् । आगलागीका कारण २६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा मलङगवा र हरिवनबाट गएको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।














