
मोरङ । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा हिजो भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १/१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । दमकले नतिजाका लागि टाइब्रेकरसम्म संघर्ष गर्नुपर्यो । निर्धारित समयमा दुवै टिमले बराबरी खेले । टाइब्रेकरमा दमकका सोहन सिन्थाङ्ग, दीपक थापा मगर, रमन राई र ओम प्रकाश तामाङले गोल गरे । धरानका राहुल लिम्बू, माल्दिना आङ्थाक र सबिनाय कटुवालले मात्र गोल गरेका थिए ।
रितेश थापा मगर र सेवन थापा मगरको प्रहार दमकका गोलकिपर आयुष लिम्बूले उत्कृष्ट बचाउ गरिदिए । टाइब्रेकरमा दुवै गोल सेभ गर्ने दमकका गोलकिपर आयुष ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरे । खेलको २७ औं मिनेटमा दमकका राहुल लिम्बूले मध्यभागबाट एक्लै बल अगाडि बढाएर वान भर्सेस वानको प्रहार गोलमा परिणत भयो । दमकले अग्रता लिएको ८ मिनेट पनि बित्न नपाउँदै धरानका सोहन सिन्ताङले ३५ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए । दमकका डिफेन्डर रोशन धिमालले हेडमार्फत बल किपर आयुष लिम्बूलाइ दिएका थिए । तर, किपरको हातबाट बल फुत्कियो ।
उक्त बललाई सोहनले गोलमा परिणत गरी खेल बराबरीमा ल्याएका हुन् । पावर गेम खेलेका दुवै टिमले गोल गर्ने थुप्रै राम्रा अवसर गुमाए । खेलको २५ औं मिनेटमा दमकका किस्मत लिम्बूले मध्यभागबाट एक्लै अगाडि बढाएको बललाई सबै डिफेन्डर बिट भइसकेको अवस्थामा पनि पोस्टमा प्रहार गर्न सकेन । ३० औं मिनेटमा धरानका सोहन सिन्ताङ्गले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो । ४७ औं मिनेटमा दमकका मल्दिना आङ्थापुले दोस्रो बार च्यापेर गरेको प्रहार बाहिरियो । ५९ औं मिनेटमा दमकका आयुष श्रेष्ठले डिबक्स भित्रबाट किपरलाई बिट मार्दै गरेको उत्कृष्ट प्रहार पोसमाथिबाट गएको थियो ।
६० औं मिनेटमा धरानका रोनिक राज म्याङबोको सशक्त प्रहार दमकका गोलकिपर आयुष लिम्बूले उत्कृष्ट सेभ गरिदिए । आजको खेल गाइघाट एघार उदयपुर र साइनो स्पोर्टस क्बल विराटनगर रानीबीच हुने आयोजकले जनाएको छ ।














