Logo
Logo

सत्ता गठबन्धनबीचको तालमेल मुलुकको बाध्यता होः नेता सिंह


693
Shares

काठमाडौं । नेपाली कांग्रेका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्नु कांग्रेसको चाहना नभइ मुलुकको बाध्यता भएको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने या नगर्ने भन्नेबारे नेपाली कांग्रेसभित्र दुई धार देखिइरहँदा उनले यस्तो बताएका हुन् । कांग्रेसको एक महिने अभियान अन्तर्गत आज बिहान बानेश्वरमा आयोजित कार्यक्रममा नेता सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धन निर्माण गरेर जानुपर्ने बाध्यतामा कांग्रेस परेको बताए । स्थानीय निर्वाचनका सम्बन्धमा कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकबाट उपयुक्त निर्णय हुने सिंहको भनाइ थियो । पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने उनले बताए ।

शुक्रवारदेखि सुरु बैठकमा निर्वाचनमा तालमेलबारे निर्णय लिन कांग्रेसले चुनावी अभियानका लागि ७७ वटा जिल्लामा खटाएका २१ जना केन्द्रीय प्रतिनिधिसँग राय लिएको छ । बैठकपछि शुक्रवार पार्टी प्रवक्ता प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तका आधारमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुनसक्ने बताएका थिए । तालमेलको पक्षमा पार्टीको संस्थापन पक्ष उभिँदै आएको छ भने संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालासहितका नेताहरु विपक्षमा छन् ।

तालमेलको पक्षमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रदेश नं १ का सभापति उद्धव थापा, बागमतीका सभापति इन्द्र बानियाँ छन् भने सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर बैठकमा सहभागी थिएनन् । बाँकी ४ वटा प्रदेशका सभापति तालमेलको विपक्षमा मत राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्