काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आइतबार बिहान नक्सालस्थित मेरियट होटलमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका लागि अध्यक्ष प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ पनि होटल मेरियट पुगेका थिए । यसअघि मेरियटमै पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरूले विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए ।

यस्तै, आइतबार नै विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीसँग शिष्टार भेट गर्न चिनियाँ विदेशमन्त्री यी शीतल निवास पुगेका थिए । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

तीन दिने भ्रमणमा आएका विदेशमन्त्री यी भेटघाट सकेर आजै फर्कँदैछन् । उनी अफगानिस्तान, पाकिस्तान, भारत हुँदै शुक्रबार काठमाडौं ओर्लेका थिए । चिनियाँ विदेशमन्त्री यीको यस भ्रमणका क्रममा विभिन्न महत्वपूर्ण दुई पक्षीय सम्झौताहरु भएको छ ।















