काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्तरूपमा अगाडि बढिरहेको बताएका छन् ।
उनले स्थापनाकालमै आफ्नो पार्टी सुदूरपश्चिम, मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको बताए ।
आइतबार पार्टीनिकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी एक नम्बरमा रहेको बताए ।

उनले भने, ‘सुदूरपश्चिममा त हाम्रो पार्टी एक नम्बरमा छ । केपी ओलीको पार्टी भुइँमा पछारिएको छ ।’ अध्यक्ष नेपालले अन्य पार्टीहरुको समेत विश्लेषण गर्दै भने, ‘देशमा माओवादी २ नम्बर, कांग्रेस ३ नम्बर, विचरा केपी ओलीको बेहाल ।’
उनले मधेस प्रदेशमा समेत एकीकृत समाजवादीभन्दा एमाले धेरै पछाडि परेको दाबी गरे । ‘दुई नम्बर प्रदेशमा हामी सशक्त भएर अगाडि छौँ’ उनले भने, ‘केपी ओलीको पार्टी त कहाँ हो कहाँ ।’
राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई धुलिसात बनाएको बताउँदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पनि एक दुई सिटमा सिमित बनाउने दावी गरे ।
कर्णाली प्रदेशमा एकीकृत समाजवादी अगाडि सशक्त ढंगबाट अगाडि बढिरहेको बताउँदै उनले भने, ‘अधिकांश जिल्लामा एमालेभन्दा अगाडि रहेर सशक्त ढंगले संगठित भएर अघि बढिरहेको छ । विचरा एमाले पछारिएर अर्धबेहोस अवस्थामा छ ।’












