
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकको समापन समारोहमा आज उहाँले पात्रको विकृत मानसिकता भएमा समाजवाद वा साम्यवादको आवरणमा तानशाह जन्मने गरेको विश्वमञ्चमा दृष्टान्त रहेको उल्लेख गरे । अध्यक्ष नेपालले सञ्चारकर्मीको कलमले सत्यको खोजी गरी तथ्यको उद्घाटन गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले जनताले करिब दुई तिहाइको बहुमत कम्युनिष्टलाई दिएको भए पनि तत्कालीन सरकारको नेतृत्व व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र राष्ट्रिय समर्पणवादी भएकाले जनाताको आर्थिक समृद्धिको चाहना पूरा हुन नसकेको विचार व्यक्त गरे ।
देशभर पार्टीको संगठन द्रुत गतिमा निर्माण भइरहेको बताउँदै अध्यक्ष नेपालले भने– ‘हामी चुनावदेखि चुनावसम्म होइन, जनतादेखि जनतासम्म जानुपर्छ ।’ अध्यक्ष नेपालले देशमा समानता, सामाजिक न्याय, विकास र समृद्धि कायम गर्ने विषय नै पार्टीको लक्ष्य भएको बताए ।
उनले राष्ट्रिय पूँजीको विकास गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि, उद्योग, पर्यटनका साथै पूर्वाधारका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकमा रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्क प्रस्तुत गरे ।
पार्टीका उपमहासचिव एवं संगठनका इन्चार्ज जगन्नाथ खतिवडाले पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय पार्टीका रूपमा स्थापित भएको बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको झण्डा देशभर फराउन प्रचारप्रसारलाई तीव्र पारिने जानकारी दिए ।
संगठनका अध्यक्ष शम्भु श्रेष्ठले श्रमजीवी पत्रकारको हक, हित र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।














