
काठमाडौं । अब एसइई कम उमेरकाले पनि दिन पाउने भएको छ । यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको हो ।
जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने भएको छ ।
मन्त्रालयले गरेको प्रवक्ता दिपक शर्माका अनुसार साना उमेरका विद्यार्थीमा पनि क्षमता छ भने उसले कक्षा १० मा एसइई दिन पाउने व्यवस्था रहेको छ । उमेरकै कारण कुनै विद्यार्थीको एसइई परीक्षा नरोकिने भएको हो ।
यसअघि कक्षा १० मा एसएलसी हुने व्यवस्था थियो । ५ वर्षको विद्यार्थी कक्षा १ मा भर्ना हुने सरकारी व्यवस्थाका कारण १४ वर्ष उमेर पुगेकाले मात्र एसएलसी दिन पाउने व्यवस्था विगतमा शिक्षा ऐनमा थियो तर हाल कक्षा १२ मा एसएलसी अर्थात् स्कुल लिभिङको व्यवस्था भयो । तर शिक्षा ऐनमा २०२८ कै व्यवस्था कायम रहेकाले धेरै विद्यार्थी समस्यामा परेका थिए ।
यो व्यवस्थाले धेरै विद्यार्थीलाई समस्या पारेको भन्दै मन्त्रालयले ऐनमा एसइईको उमेर हदको व्यवस्था हटाएको प्रवक्ता शर्माको भनाई छ । मन्त्रालयले शिक्षा ऐनको दफा २ को खण्ड (घ) र (छ), शिक्षा नियमावली २०४९ को नियम ७८ को उपनियम ८२ मा संंशोधन गरी उमेरको थ्रेसहोल्ड हटाएको हो ।














