रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन माओवादीको लागि लडाइँ भएको बताएका छन् । सोमबार लिवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन माओवादीको लडाइँ भएको भन्दै रोल्पा कब्जा गर्न निर्देशन दिए ।
आमागी निर्वाचन माओवादीको लागि ब्याटल भएकाले जित्नैपर्ने अध्यक्ष प्रचण्डले बताए । माओवादीले जिते जनयुद्धले जित्ने र हारे जनयुद्ध पनि हार्ने उनको भनाइ थियो ।

‘यो स्थानीय तहको निर्वाचनमा अरुको लागि चुनाव हो, हाम्रो लागि लडाइँ नै हो । अरुको लागि चुनाव आउँछ, एउटाले जित्छ, अर्काले हार्छ मात्रै हो,’ उनले भने, ‘हामीले चुनाव जित्दा संविधानले जित्छ, जनयुद्धले जित्छ । हामी हार्यौँ भने जनयुद्ध हार्छ । सहिदको त्याग र बलिदान खेर गएको हो कि भन्ने भ्रम पैद हुन्छ । चुनाव, हाम्रो लागि ब्याटल हो, यो ब्याटल हामीले जित्नैपर्छ ।’
उनले माओवादी कसैमाथि जाइ नलाग्ने र आइलाग्नेमाथि चुप लागेर नबस्ने बताए । उनले भने, ‘हामी कसैमाथि जाइ लाग्दैनौं । हामीमाथि आइलागे इटाको जफाव पत्थरले दिने तयार गनुपर्छ ।’
उनले नेपालमा ४०-५० वर्षसम्म कम्युनिस्ट शासन रहला भनेर तत्कालीन नेकपा बनाएको बनाएको तर, केपी शर्मा ओली खलनायक निस्किएको बताए ।
‘हामीले जे सपना देखेर नेकपा बनाएका थियौँ । नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय छ । एउटै कम्युनिस्ट पार्टी बनाएर शान्तिपूर्ण ढंगले समाजवादतिर जान पाइयो भने ४०-५० वर्ष कम्युनिस्टहरु शासन रहला भनेर एकता गरेको थियौँ ।’ उनले भने, ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिएला कि भन्ठानेका थियौँ । जसलाई नायक बनाउन सकिन्छ कि भन्ठानेका थियौँ । तर, तिनी मान्छे खलनायक निक्ले । ती विदेशी दलाल देखापरे । र, हामीले संघर्ष गर्नुपर्ने अवस्था आयो ।’
प्रचण्डले तत्कालीन नेकपामा चलेको अन्तरसंघर्षमा ओली पराजित भएको बताए । उनले भने, ‘पार्टीको केन्द्रीय समितिको ७० प्रतिशत हाम्रो पक्षमा थियो । त्यसले प्रधानमन्त्री हटाउने र अध्यक्षबाट पनि केपी ओलीलाई हटाउने निर्णय गरेको थियो । बहुमत सांसद्हरुको हस्ताक्षर र ७० प्रतिशत केन्द्रीय सदस्यको निर्णय भएको थियो । तर, अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिक्रियावादीको सेटिङ र षडयन्त्रले निर्वाचन आयोगले समयमा निर्णय नगरिदिँदा र संसद् सचिवालयले संसद्को बहुमतको निर्णयलाई रोकेर राखिदिँदा एउटा ठूलो दुर्घटनातिर देश जाने खतरा पैदा भयो ।’














