Logo
Logo

दुई वर्षभित्रमा सबैका घरमा केन्द्रीय प्रसारण : ऊर्जामन्त्री


315
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२-३३-११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गरेकी छन् ।

मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउने गरी सरकारले नीति, कार्यक्रम र योजना बनाएको बताइन् । उनले नेपालका नदी, नालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने बताइन् ।

उनले भने, ‘राजनीतिक प्रणालीमा परिवर्तनपछि जलविद्युत्को विकासमा सरकारी प्रयास अघि बढेको छ । निजी क्षेत्रका लागि पनि यो खुला गरिएको छ । अहिले बत्तीका लागि होइन ऊर्जाका हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्ने र पेट्रोलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेका छौँ ।’

पानीलाई बिजुलीमा रुपान्तरण गरेर बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी अहिलेको असन्तुलित व्यापार घाटा सन्तुलनमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री भुसालले बताए ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको र सो विद्युत् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युत् व्यापारका लागिसमेत कार्य अघि बढाइको मन्त्री भुसालको भनाइ थियो ।

उनले, ‘गत वर्ष भारतसँग ७५ मेगावाट विद्युत् बिक्री गरेर व्यापारको सुरुआत गरेका छौँ । आगामी वर्ष ५०० देखि ७०० मेगावाट विद्युत् बिक्री गर्ने योजना छ ।’

देशभित्र हाल कुलेखानीबाहेकको अर्को रिजर्भ (जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग बिजुली खरिद गर्नुपर्ने बाध्यता रहे पनि अर्को वर्षदेखि आत्मनिर्भर बन्ने अवस्था आउने मन्त्री भुसालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्