काठमाडौं । बिचौलियाहरूका ठगीका अनेक जाल । न्यायाधीशसँग मुद्दा जिताइदिने भन्दै भेट्न लैजाने, अनि टन्न पैसा उठाउने । जिते सबै पैसा खाइदिने हारे बेपत्ता हुने ।
यस्तो धन्दा अदालतमा व्यापक छ । यस्तै एउटा घटनामा एक पीडित नै बेपत्ता छन् । जग्गासम्बन्धि मुद्दामा ठगीएका एक व्यक्ति एक महिनादेखि रहस्यमय रुपमा बेपत्ता भएका हुन् । ठगी गर्ने व्यक्तिलाई भेट्न सर्लाही गएका झापाका राजन खरेल ७ फागुनदेखि बेपत्ता भएका हुन् ।

झापामा ४२ कठ्ठा जग्गा किन्न तयारीमा थिए खरेल । त्यो जग्गाको विषयमा जिल्ला अदालत झापामा मुद्दा परेको थियो । अदालतमा मुद्दा जिताइदिने भन्दै सर्लाहीका विजय ठाकुरले उनीसँग १० लाख रुपैयाँ लिएका थिए । मुद्दा हारेपछि खरेल पैसा फिर्ता माग्न सर्लाही गएकोमा त्यसयता उनी बेपत्ता छन् ।
खरेल साथी पुष्कर गौतमसहित सर्लाही गएका थिए । उनीहरु खाजा खान एक रेष्टुरेन्टमा गएकोमा मोबाइल त्यही रेष्टुरेन्टमा छाडेर एकैछिन बाहिर निस्किएका गौतम त्यसपछि सम्पर्कबिहीन भएको बताइएको छ ।
गौतमले नै खरेललाई मुद्दा जिताइदिने भन्दै ठाकुरसँग भेट गराइदिएका हुन् । पैसा फिर्ता माग्द उनै गौतमलाई लिएर गएका थिए । तर, सर्लाहीमा जाँदा ठाकुरले भेट्न नमानेको र पछि काठमाडौं आएर पैसा फिर्ता गर्ने बताएका थिए । यसरी ठग्न ठाकुरले झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमलाई भेटाएका थिए । तर, मुद्दाको बारेमा भने छलफल भएको थिएन । तर, न्यायाधीशले यस्ता बिचौलिया सहजै भेट्दा सर्वसाधारणहरु भने पीडित हुने गरेका छन् । यो घटनाको सर्लाही प्रहरीले पनि विस्तृत अनुसन्धान गरेको छैन ।











