Logo
Logo

सशस्त्रमा २० दिने आइजिपीको दौडधुप



काठमाडौं । एक सातापछि नेतृत्व परिवर्तन हुन लागेको सशस्त्र प्रहरी बलमा चार वर्षे आइजिपीका लागि ठूलो विवाद छैन, तर २० दिन आइजिपी हुन भने मारामार छ । २९ चैतदेखि १८ वैशाखसम्म सशस्त्रमा हालका आइजिपी शैलेन्द्र खनालकै ब्याचका दुई एआइजीमध्ये एक आइजिपी हुनेछन् । जसमा पुष्पराम केसी र रामशरण पौडेल प्रतिस्पर्धामा छन् । दुवै जना अस्वस्थ्य चलखेलमा लाग्दा २० दिने आइजिपी नियुक्तिमा विवादमा पर्ने देखिन्छ ।

२० दिने आइजिपीमा अस्वस्थ्य चलखेल भएपनि त्यसपछि चार वर्षका लागि हुने नियुक्तिमा भने ठूलो टकराव देखिएको छैन । आइजिपीका प्रमुख दुई दाबेदार एकको अवकाशपछि अर्काे आइजिपी हुने भएकाले समस्या नभएको हो । बढुवाको प्रतिस्पर्धामा पहिलो नम्बरमा रहेका राजु अर्याल तथा दोस्रो नम्बरमा रहेका नारायणदत्त पौडेल छन् । पहिलो नम्बरका अर्याललाई आइजिपी बनाउँदा उनको अवकाशपछि पौडेल फेरि आइजिपी बन्ने भएकाले समस्या नभएको हो ।

एकातर्फ सशस्त्रमा अहिलेसम्म १ नम्बरकै व्यक्ति आइजिपी बनेको नजिर छ भने अर्काेतर्फ अर्यालको सत्तारुढ कांग्रेस र माओवादीको नेतृत्वसँग निकटता भएको बताइन्छ । दोस्रो नम्बरका पौडेलले अर्याललाई उछिनेर अहिले नै आइजिपी बन्ने दौडधुप भने जारी राखेका छन् । यद्यपि, एसएसपी हुँदा २–२ पटक आर्थिक अनियमिततामा कारबाही भोगेकाले अहिले उनलाई समस्या भएको छ । ककनी तालिम केन्द्रमा हुँदा राशन अनियमितताको पाँच लाख फिर्ता गरेको तथा पूर्वी बाहिनीमा हुँदा पनि त्यस्तै घटनामा कारबाहीमा परेकाले पनि उनलाई अहिले समस्या हुने देखिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

तेस्रो नम्बरका प्रतिस्पर्धी चन्द्रप्रकाश गौतम पनि आफु डिएसपीमा सबैभन्दा सिनियर भएकाले अहिले आफ्नो दाबी रहने भन्दै लबिइङमा लागेका छन् । उनी सशस्त्रमा सेनाबाट आएका एक मात्र उच्च अधिकारी हुन् । सशस्त्रमा २८ चैतपछि रिक्त हुने एआइजीको एक पदमा जो बढुवा हुन्छ उनी आइजिपी बन्ने अवस्था छ ।

उता सशस्त्र महानिरीक्षक खनालको कार्यकालमा सशस्त्र प्रहरीमा बढुवा नहुने भएको छ । गृहमन्त्री बालकृष्ण खाणसँग सम्बन्ध बिग्रिएकाले पनि बढुवा नहुने भएको गृह स्रोतले बताएको छ । खनालले आफ्नै कार्यकालमा एसपी र डिएसपी पदमा बढुवा गर्न खोजेका थिए । तर, बढुवा समितिका सदस्य रहेका गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले त्यसमा चासो दिएनन् । सशस्त्रमा हालै तल्लो तहका केही पद कटौती गरी माथिल्लो पद थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्