दमक । मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १-० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलमा प्रवेश गरेको हो ।
मनाङको जितमा अफिज ओलावलेले गरेको गोल नै निर्णायक गाल बन्यो । उनले खेलको २९औँ मिनेटमा गोल गरेका थिए ।
खेलमा मनाङले थप गोल गर्ने केही अवसर पाएपनि गोल गर्न सकेन । मानेभञ्ज्याङले पनि गोल गर्ने केही सुन्दर अवसर गुमाएको थियो ।
आजको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भए । उनले नगद दश हजार पुरस्कार पाए ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबार विजयी हुने टिमले फाइनलमा मनाङसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चाम्लागाईँले जानकारी दिए ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।











