काठमाडौं । नाबालिगमाथि बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा अभिनेता पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको छ ।
मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीबाट न्यायाधीश राजभण्डारीको इजलासमा परेको हो ।

‘तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको’ भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाहको तर्फबाट मंगलबार उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दर्ता गरिएको थियो ।
अभिनेता शाहले दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई वेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ ।
एक नाबालिग गायिकालाई ‘विवाह गर्छु’ भनी आश्वासन दिएर जबरजस्ती करणी गरेको अभियोगमा बालिकाकै बुवाको जाहेरीका आधारमा गत फागुन ११ गते तनहुँ प्रहरी र त्यसको केही दिनमा नवलपुर प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीपछि पक्राउ परेका शाहविरुद्ध तनहुँ जिल्ला अदालत र नवलपुरमा मुद्दा दायर भएको थियो ।














