काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ प्रमुख तीन दलबीच तालमेलका लागि जुटिरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दलहरु चुनावी गठबन्धनमा जुटिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एक्लैले चुनाव लड्ने बताउँदै आएको छ ।

तर, एमालेले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्न सक्छन् किनकि अहिलेसम्म एमालेले चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताउँदै आएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमालेसँग चुनावी तालमेल हुनसक्ने जनाएको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेसँग सहकार्य जाने प्रयास भइरहेको बताए । मंगलबार भरतपुरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले एमालेसँग सहकार्यको प्रयास भइरहेको बताएका हुन् ।
अध्यक्ष थापाले भने, ‘एमालेसँग प्रारिम्भक चरणको कुरा भएको छ । राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको महसुस गर्छौँ । सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।’ स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने समेत दाबी गरेको छ ।
उनले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न चूनौती समेत दिएका छन् । ‘अहिले राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउन खोज्नुभएको छ, राजसंस्था पुर्नस्थापना समितिा रुपमा प्रयोग गर्न खोज्नुभएको छ’ उनले भने, ‘बरु पूर्वराजाले पार्टी खोलेर आए बेश हुन्छ, उहाँ पार्टी अध्यक्ष बन्नुभयो भने म पनि जान्छु होला । तर यो सम्भव देख्दिन ।’














