काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृँखलाको तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई २०४ रनको लक्ष्य दिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो छैटौं ठूलो स्कोर हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ३३ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरेका थिए । यसै खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ३१ रन बनाए । उनले ११ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे ।
दीपेन्द्रले १९औं ओभरको अन्तिम बलमा आउट हनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारीसँग मिलेर ७६ रनको साझेदारी गरेका थिए । नेपालले अन्तिम ३ ओभरमा मात्रै ६० रन जोडेको थियो ।
यस्तै रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोडे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए ।
सातौं ओभर भने दोस्रो बलमै उनीहरुको साझेदारी तोडिएको थियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए । आसिफ २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाउँदा दशौं ओभरमा आउट भए ।
तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए ।
चौथो विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट भए । १९औं ओभरमा ३२ रन जोडेको नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ४ रन मात्र जोडेको थियो । बलिङमा पीएनजीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिए ।











