
काठमाडौं । अहिले देशमा भारतको बिहार राज्य आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सामान्य रुपमा परेको छ ।
आज बिहान प्रदेश नं १, मधेश प्रदेशसहित अरु प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशका अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने छ ।
त्यस्तै राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहने महाशाखाले उल्लेख गरेको छ । यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैबीच, तराईका भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।












