
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई तीन प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवाले लोसपालाई नागरिकता विधेयक अगाडि बढाउनेलगायत तीन विषयमा प्रतिवद्धता जनाएका हुन् ।
भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतालाई वालुवाटारमा भेटघाट गरी तराई-मधेस आन्दोलनमा पक्राउ परेर जेल जीवन बिताइरहेका नेताहरुको मुद्दा फिर्तालगायतका विषयमा प्रतिवद्धता जनाएका छन् ।
‘प्रधानमन्त्रीज्यूले लोसपाका नेताहरुसँग तीनवटा प्रतिवद्धता जनाउनुभएको छ,’ लोसपा कार्यकारिणी सदस्य केशव झाले भने, झाका अनुसार पहिलो बजेट अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने, दोस्रो मुद्दा फिर्ताका बारेमा जानकारी लिन महान्यायधिवक्तालाई निर्देशन दिएका छन् ।
स्थानीय तहमा चुनावी गठबन्धनका बारेमा भारत भ्रमणवाट फर्केपछि पाँच दलीय गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने तेस्रो प्रतिबद्धता जनाएको झाको भनाई छ । भारत भ्रमणबाट फर्केलगत्तै पुनः प्रधानमन्त्री र लोसपाका शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्ने उनले बताए ।














