Logo
Logo

रक्सीको करामत, अपहरणको नाटक



काठमाडौँ । राजधानीमा पेशेवर अपहरणकारी गिरोहले केही वर्षयता टाउको उठाउन सकेको थिएन । तर, राजधानीमै रातारात धनी हुने सपनामा केही युवाहरुबाट चिनजानकै बच्चाहरुको अपहरण गरी फिरौती माग्ने घटना भने रोकिएको छैन ।

1858376a


जब चिनजानकै व्यक्तिबाट बालकको अपहरण हुन्छ, तब अपहरित जोगाउन गाह्रो हुन्छ । गत साउनमा भक्तपुरमा चिनजानकै व्यक्तिले एक जना बालकको अपहरणपछि हत्या गरे । त्यसै गरेर मंसिरमा आफ्नै चालकले होटल सञ्चालकको छोराको अपहरणपछि हत्या गरे ।
यही बीचमा गत बुधबार चिनजानकै व्यक्तिबाट १२ वर्षीय बालक अपहरणमा परेको घटनाले उपत्यका प्रहरीमा हल्लीखल्ली मच्चियो । गोंगबुबाट एकजना बालक हराएको सात दिनपछि फिरौती मागिएको भनेर गोंगबु चौकीमा अपहरणको उजुरी परेको थियो । घटना संवेदनशीलजस्तो लागेपछि महानगरीय अपराध महाशाखाको टोली तत्कालै ‘मूभ’ भयो । एसपी सोमेन्द्रसिंह राठौर आफैँ फिल्डमा खटिए ।
बालकका बुबा समरबहादुर तामाङले छोरा अपहरणमा परेको भनेर प्रहरीलाई खबर गरेका थिए । तामाङलाई भेटेर प्रहरी अनुसन्धानमा खटियो । अपहरणकारी भनिएका युवक उनकै चिनजानका व्यक्ति थिए । फोनमा कुरा भइरहेको थियो । अपहरणकारीले के भन्छ भन्ने कुरा प्रहरी सुन्न चाहन्थ्यो । तर, समरबहादुरले अपहरणकारीलाई फोन त गरे तर मोबाइल ‘लाउडस्पिकर’ गर्नै मानेनन् । फिरौती माग्ने भनिएका केटोसँग कुरा भएपछि मोबाइलको लोकेशन प्रहरीले भेट्टाइसकेको थियो ।
समरबहादुर ती केटोलाई तत्काल भेट्नुप¥यो भनेर फोनमा भनिरहेका थिए । केटोले भने त्यो दिन आफू व्यस्त रहेकाले भोलिपल्ट मात्र भेट्ने बताइरहेका थिए । त्यही क्रममा त्यो केटालाई प्रहरीले नियन्त्रणमा लियो र बच्चा कहाँ छ भनेर सोध्न थाले । ती केटा अक्क न बक्क भए । समरबहादुरका छोरालाई आफूले नभेटेको एक हप्ता भएको उनले प्रहरीलाई बताए । समरबहादुरले उनले नै फिरौती मागेको प्रहरीमा उजुरी गरेका थिए । प्रारम्भिक अनुसन्धानमा त्यस्तो केही देखिएन । त्यसपछि थप बुझ्दा उनका छोरा गोगंंबुकै एक होटलमा काम गरेर बसेको थियो ।
छोरा अपहरणमा परेको त मदिराको कमाल थियो । त्यो दिन समरबहादुर मदिरामा मात्तिएका थिए, धेरै दिनसम्म छोरा घरमा नआएपछि उनी अपहरणमा परेको भन्दै नशाको सुरमा प्रहरीमा पुगेका थिए । त्यहीकारण उनले फोनमा कुरा गर्दा लाउडस्पिकरमा कुरा गर्न नमानेका रहेछन् ।
खासमा आमा–बुबाले ख्याल नगर्ने भएकाले उनका छोरा होटलमा काम गर्न थालेका थिए । मदिराको नशामा प्रहरीलाई तनाव त भयो नै साथै निकै दुःख भने झेल्नुप¥यो । झुटो सूचना दिने तामाङलाई प्रहरीले केही घन्टा थुनामा राखेर छाडिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्