धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनविरोधी शक्तिहरू छट्पटाउन थालेको बताएका छन् ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भइसकेको बताए । अध्यक्ष नेपालले भने, ‘यसले जनविरोधीहरूको मुख चाउरिएको छ । निद्रा हराम भएको छ । बेहोस हुन बेर छैन ।’ चुनावी तालमेलको निर्णयले उनीहरू जे पायो त्यही बोलेर बर्बराउन थालेको समेत टिप्पणी गरे ।
एमालेप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘अब उनीहरूको काम बर्बराउने हो उनीहरूको काम भनेको जथाभावी बोल्ने हो । हामी अगाडि बढ्छौं । अब हात्ती हिँड्दै गर्छ । भुक्ने भुक्दै गर्छ । चिन्ता नगर्नुस् ।’
उनले आफूहरूले लिएको सही विचार, सही नीति, सही मूल्य मान्यता रहेको बताए । अध्यक्ष नेपालले त्यसको ठीक उल्टो प्रतिगामी शक्तिहको प्रवृत्ति छताछुल्ल भएकाले कमजोर भइसकेको बताए ।
अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीको गर्नुपर्ने समेत बताए । ‘सबभन्दा ठूलो दल हामी यहाँ छौँ । प्रदेशसभाको सदस्य संख्याको हिसाबले प्रदेश सरकारको मुख्यमन्त्री हामीले दाबी गर्नु स्वाभाविक हो’ उनले भने, ‘त्यो हाम्रो दावा छदैछ, सबैमा प्याकेजमै हुन्छ ।’














