Logo
Logo

‘राजनीतिक स्थिरताका लागि माओवादीको जित अनिवार्य’


2.7k
Shares

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसको नीति उसैको नेतृत्व नहुँदासम्म शान्ति र विकास सम्भव नभएको बताएका छन् ।

बर्दिबास नगरपालिका–११ खयरमारामा शहीद पार्क शिलान्यास तथा निर्मल लामा वहुप्राविधिक शिक्षालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सम्पूर्ण परिवर्तनका एजेण्डा माओवादीको भएको र शान्ति, संविधान र विकासको जिम्मेवारी पनि माओवादीले लिनुपर्ने तर सरकार र सत्ता भने अरुकै नेतृत्वमा रहने अवस्थाले समस्या भएको बताएका हुन् । माओवादीको नेतृत्वमा सत्ता नबन्दासम्म राजनीतिक स्थिरता पनि हुन नसक्ने उनको भनाइ रहेको छ ।

प्रचण्डले आगामी निर्वाचन जसको नीति उसकै नेतृत्व स्थापित गर्न पनि माओवादीले जित्नै पर्ने अनिवार्यता रहेको बताए । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने प्रचण्डको भनाइ रहेको छ ।
प्रचण्डले भने– ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हर्कतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।’

आसन्न स्थानीय तह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्