काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको एक नेपाली सेनाको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले बुधबार विज्ञप्तिमार्फत जनाएको हो ।
गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यो घटनाले नेपाली सेनालाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । गुरुङको बलिदानीपूर्ण योगदानको उनले उच्च सम्मान प्रकट पनि गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिवले पनि शोक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् ।












