‘काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको आचारसंहिताप्रति ६बुँदे असहमति जनाएको छ । बिहीबार सो पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आयोग पुगेर ६ बुँदे असहमति जनाएको हो ।

एमालेले जारी गरेको आयोगले चैत ३ गते राजपत्र जारी गरेर सार्वजनिक गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा रहेका विभिन्न त्रुटिहरू ६ बुँदामा उल्लेख गरिएको छ । जसमा पहिलो बुँदामा आचारसंहिताको दफा ४ मा भएको त्रुटिका सन्दर्भमा उल्लेख गरिएको छ । राजनीतिक दल, दलका उम्मेदवार र भ्रातृसंस्थाले प्रचारप्रसार गर्न नपाउने भन्ने आशयको व्यवस्था छ ।
यस्तै, ‘निर्वाचन भनेको मत माग्ने मात्र नभई दलहरूले आफ्ना विचारद्वारा जनतालाई प्रशिक्षित गर्ने माध्यम पनि हो । संविधानको धारा २६९ को उपधारा (१) ले यसको प्रत्याभूत गरेको छ’ भनेर उल्लेख गरिएको छ । सोहीअनुसार आचारसंहितामा भएको प्रावधानले दलहरूको विचार, नीति, कार्यक्रमको तुलना गरी श्रेष्ठतम् दललाई रोज्ने जनताको अधिकार कुण्ठित भएको एमालेको ठहर छ ।
यस्तै दोस्रो बुँदा नम्बर ५ मा भएको व्यवस्थाबारे ध्यानाकर्षण गरिएको छ । जसमा प्रधानमन्त्री, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले आफ्नो पार्टीको प्रचार गर्न नपाउने भन्ने विषयलाई वैचारिक र दलीय आवद्धतालाई अंकुश लाउन नहुने एमालेको धारणा छ । भने आचार संहिताको दफा २ (न) र दफा (११) मा भएको त्रुटिबारे ध्यानाकर्षण गराइएको छ ।
योसँगै एमालेले चैत २२ गतेको राजनीतिक दलहरूको प्रतिवद्धता लिने कार्यक्रममा भएको बिबाद र नाराबाजीकाबीचमा आफ्नो धारणा राख्ने अवस्था नभएका कारण प्रतिवद्धता जनाउन नसकिएको जनाएको छ ।















