Logo
Logo

चुचुरोमा टावर रोप्ने अधम प्रतिस्पर्धा



विकासको पर्यायवाची शब्दजस्तै बनेको छ– भ्यूटावर । विकासको नाममा ‘भ्यूटावर’ निर्माण गर्ने प्रवृत्ति मैलाएको छ । शहरदेखि गाउँसम्म धमाधम भ्यूटावर बनाइँदैछ । अहिले देशभर १ सय १७ वटा भ्यु टावर निमार्णका क्रममा छन् ।

गाउँगाउँमा भ्यूटावर बनेपछि उद्घाटन गर्न नेता पनि गाउँगाउँ पुगेका छन् । भ्यूटावर उद्घाटको लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरू हेलिकोप्टर मार्फत पुग्ने गरेका छन् ।

केही दिनअघि पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दिनको अन्तरालमा भ्यूटावर उद्घाटन गरे । अघिल्लो सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित चुच्चे डाँडामा बनेको भ्यूटावर उद्घाटन गरेका थिए ।

झण्डै ६ करोडमा बनेको उक्त भ्यूटावरको उद्घाटन गर्दै प्रचण्डले रोल्पाले विकासको नयाँ मोडेल दिएको बताए । उनले भनेका थिए- ‘रोल्पाले युद्धमा जस्तै विकासमा पनि रेकर्ड बनाएको छ ।’

एमाले अध्यक्ष ओलीले त्यसको भोलिपल्ट रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन–विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा निमार्ण गरिएको भ्यूटावर उद्घाटन गरे ।

११ करोड ५४ लाख ८१ हजारमा निर्माण भएको उक्त भ्यूटावरको उद्घाटन गर्दै उनले भ्यूटावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए । उनले प्रशंसा गर्दै भनेका थिए- ‘भ्यूटावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ, यसले यो क्षेत्रको विकासमा सहयोग पु¥याउने छ ।’ ०००

नुनदेखि सुनसम्म विदेशबाट ल्याउनु पर्छ । विद्यालय, अस्पताल अस्तव्यस्त छन् । सडकको हालत उस्तै । मल्यवृद्धिले टावरभन्दा अग्लो विन्दु कायम गरिसक्यो । कृषिप्रधान देशमा खाद्यन्न अन्तैबाट ल्याउनुपर्छ । तर यहाँ, चुचुरोमा टावर रोप्ने प्रतिस्पर्धा छ !

ओली र प्रचण्डले उद्घाटन गरेपछि भ्यूटावरले झनै चर्चा पायो । सामाजिक सञ्जालमा बहसको विषय बन्यो । सञ्चारमाध्यको हेडलाइन बन्यो । धेरैले प्रश्न उठाए । जनताको करबाट उठाएको रकम दुरुपयोग गरी भ्यूटावरमा लगानी गरेको भन्दै आक्रोश पोखे । असन्तुष्टि जनाए ।

भ्यूटावर निमार्णको तीव्र आलोचनापछि ओलीले आफ्नो बचाउ गर्दै आएका छन् । गत आइतबार बचाउँ गर्दै उनले भने– ‘हामीले बनाएका भ्यूटावरहरू सभ्यता, विकास, व्यापारिक र अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् । हाम्रा स्वदेश र विदेशका मान्छेहरू, आन्तरिक पर्यटन र बाह्य पर्यटन समेतलाई आकर्षित गर्ने कुरा हुन् ।’

उनले भ्यूटावर निमार्णको बचाउ मात्रै गरेनन् । भ्यूटावर निमार्णको आलोचना गर्नेहरूमाथि खनिए पनि । उनले भने– केही मान्छे बुझ्दैनन्, केही गर्न क्षमता नभएका, केही गर्ने योजना नभएकाहरूले विकास निर्माणका कामहरू गर्दा पनि आलोचना गर्छन्, विरोध गर्छन् । अहिले एक खालको लहर चलाएका छन्, भ्यूटावरविरोधी ।’ ०००

देश बनाउने या बिगार्ने जिम्मा राजनीतिकै हो । राजनीति सम्पूर्ण क्षेत्रको अगुवाइ गर्ने नीति हो । राज्य गर्ने साधन हो, जसले राष्ट्रलाई कस्तो बनाउने भन्ने निर्धारण गर्छ । त्यसैले राजनीति र विकासको सम्बन्ध घनिष्ठ हुन्छ । वास्तवमा राजनीतिको अन्तिम विन्दु विकास नै हो ।

भ्यूटावर निमार्णलाई देश विकासको रुपमा दाबी गर्नेहरुको जमात ठूलो छ । भ्यूटावर बनाएर भयङ्कर विकास ग¥र्यौँ भनेर आफूलाई महान ठानिरहेका छन् । देश आर्थिक सङ्कटमा फस्दै गइरहेको बेला भ्यूटावरबाट समृद्धि हाँसिल गर्ने सपना बाँडिरहेका छन् । भ्यूटावरले देशको विकासमा सहयोग पु¥याउने विश्वास गरिरहेका छन् ।

हामी विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाज्छौँ । विकासलाई केवल ठूलाठूला भौतिक संरचना विकासमा सीमित गरिएको । जुन असाध्यै गलत हो । विकाससम्बन्धी गलत अवधारणा हो । यो विकासप्रतिको गलत दृष्टिकोण हो । ०००

नागरिकको आवश्यकता र समस्याको विषयमा तीनै तहका सरकारलाई चासो छैन । जनताले राम्रो शिक्षा, स्वास्थ्य र रोजगार पाएका छैनन् । युवा वर्षौंदेखि खाडीमा पसिनासँग घर र सन्तानको बाध्यता साटिरहेका छन् । गरिब झन् गरिव बन्दैछन् ।

नुनदेखि सुनसम्म विदेशबाट किन्नुपर्ने बाध्यता छ । सरकारी स्कुल, अस्पताल अस्तव्यस्त छ । सडक हिउँदामा धुलाम्मे र वर्खामा हिलाम्मे हुन्छ । मल्यवृद्धिले टावरभन्दा अग्लो विन्दु कायम गरिसक्यो । कृषिप्रधान देशको परिचय बनाएको नेपालले चामल, मकै र गहुँजस्ता अन्न अन्य देशबाट आयत गर्नुपर्छ । वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ ।

अहिलेका लागि अत्यावश्यक, शिक्षा, स्वास्थ्य, रोजगार र कृषि पूर्वाधारमा लगानी गर्नुपर्ने हो । तर, भ्यूटावर बनाएर समृद्धि ल्याउने भाषण ठोक्नमै समय व्यतित भइरहेको छ । स्वतः प्रश्न तेर्सिन्छ- अहिलेको आवश्यकता भ्यूटावर हो ? भ्यूटावरले समृद्ध नेपाल, सुखी नेपाली सम्भव छ ? विकासको नाममा अझै कति भ्यूटावर बनाउने ?

वैदेशिक रोजगार विभागमा लाइन बसेका युवालाई त्यो भ्यूटावर चढ्ने फुर्सद होला ? घिस्रिरहेका भुइमान्छेले टोपी खस्ने टावर चढ्ने हिम्मत गर्लान् ? त्यो टावरबाट दुरविनले हेर्दा तुइनबाट खसेर बेपत्ता भएका जयासिंह धामीको लास देखिएला ? बेरोजारीको पहाडमा बस्नेलाई टावर–टावर घुम्ने पैसा कसले देला ? ०००

गाउँगाउँमा पुगेको भ्यूटावरको सुरुवात देशको संघीय राजधानीबाटै भएको हो । प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८६३–१८९४ को समयमा धरहरा निमार्ण गरेका थिए । तर, उनले दृश्यावलोकन गर्ने उद्देश्यले निर्माण गरेका थिएनन् । अंग्रेजहरुलाई देखाउन उनले धहरा निमार्ण गरेको बताइन्छ । धरहरालाई त्यो समय अंग्रेजहरूले भीमसेनको अहङ्कारका रुपमा लिएका थिए भन्ने लेखहरू अहिलेसम्म भेटिन्छन् ।

भीमसेनको समयमा धरहरा निर्माण हुनुको कारण र त्यसको आवश्यकता इतिहासमा स्पष्ट पाइँदैन । तर, योगी नरहरिनाथको ‘देवमाला वंशावली’मा भने भीमसेनले धरहरा बनाउनुको कारण अंग्रेजहरू आउँदा हेर्नको निमित्त, आपतकालमा पल्टनहरू जम्मा गर्न, बिकुल लाउन बनाएको उल्लेख छ । तर, अहिले निमार्ण भइरहेका भ्यूटावर केवल दृश्यावलोकनका लागि मात्रै हुन् ।०००

देशैभरि टावरको लस्कार छ । होचा, अग्ला, थुम्का ढिस्का, हिमाल, डाँडाकाँडा नेपालका प्रकृतिक भ्यूटावर हुन् । नेपाल प्रकृतिक भ्यूटावरले भरिपूर्ण देश हो । विश्वकै सबैभन्दा अग्लो भ्यूटावर सगरमाथा यहीँ छ ।

टावरलाई क्षणिक र भ्रमित सुखको बिम्बको रुपमा लिइन्छ । अरु देशले समृद्धि देखाउन भ्यूटावर बनाउने गरेको पाइन्छ । तर, हामी अरु घोडा चढ्यो भनेर धुरी चढिरहेका छौँ । हाम्रो लागि अहिले टावर अत्यावश्यक हो त ? सोचनीय छ ।

राज्यकोष खर्चेर भ्यूटावर बनाउनु भनेको चटके आयोजना मात्रै हो । यहाँ भ्यूटावर बनाउनुको औचित्य छैन । अर्थतन्त्रमै संकट देखिरहेको बेला अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र खर्च गलत अभ्यास हो ।

विकास भौतिक संरचना मात्र होइन । आफ्नै खाद्यान्न उत्पादन, सही शिक्षा, राम्रो स्वास्थ्य अनि सद्भावको दीर्घकालीन विकास गर्नुपर्छ । शिक्षाको स्तर उकास्नुपर्छ । रोजगारीको ग्यारेन्टी गनुपर्छ ।

अब नयाँ योजनामा भ्यूटावर पर्नु हुँदैन । भ्यूटावर निर्माणको शिक्षा, स्वास्थ्य, रोजगार, बाटो तथा अन्य पूर्वाधार निर्माणमा लगाइनुपर्छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वका ठाउँहरूलाई नै पर्यटकीय आकर्षणका केन्द्रको रुपमा विस्तार गरिनुपर्छ । ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्ने स्थलमा भ्यूटावरजस्ता निमार्णले त्यस ठाउँको महत्व नै ओझेलमा पर्न दिनु हुँदैन ।०००

प्रतिक्रिया दिनुहोस्