काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले भने, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही ग¥यो । धान खाने मुसो, चोट खाने भ्यागुतो भयो ।’ ओलीको उक्त भनाइ अर्थमन्त्री जनार्दन शर्मालाई व्यंग्य हो ।
उनले अर्थमन्त्री शर्माले अर्थतन्त्र ध्वस्त पारेको समेत आरोप लगाए । उनले भने, ‘अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पा¥यो, ध्वस्त पा¥यो । देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ ।’
अध्यक्ष ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवक, अर्थविद्, राष्ट्र बैंकबाट डेप्युटी गभर्नर भएर अर्थतन्त्र बुझेका मान्छेलाई बलीको बोको बनाएको आरोप लगाए ।
उनले छानविन गर्न बनाइएको समितिमा पनि माओवादी केन्द्रको छाँया रहेको बताए । ओलीले भने, ‘माओवादीले नियुक्त गरेको, माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानविन समिति बनायो । माओवादी भनेर जानिएको मान्छे ।’












