काठमाडौं । अहिले नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि बिहान मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैगरी, राति प्रदेश नं. १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यसैबीच, प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।












