Logo
Logo

सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु


882
Shares

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा हजारौँको सहभागिता जुटेको छ ।

रथयात्राका लागि शनिबार दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पु¥याइएको छ । रथ असन पुगेपछि अहिले पूजा, आराधना गर्ने भक्तजनको भीड लागेको छ ।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्र बहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । अष्टमीका दिन आज कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्