Logo
Logo

भूमिहीनलाई निस्सा वितरण गर्दै पालिका


630
Shares

दमौली । वर्षौँदेखि लालपूर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् ।

शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुवात गरेको हो । शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपूर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिए । निस्सा वितरणसँगै लालपूर्जाको प्रक्रिया सुरु भएको उनले बताए ।

नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन संकलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपूर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपूर्जाका लागि निवेदन संकलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपूर्जा पाउन सकेका छैनन् । बन्दीपुरले पनि भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

उनका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उनले बताए । यसैगरी, बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हौँ, निस्सा दिएपछि अब लालपूर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उनले भने । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपूर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्