Logo
Logo

असिनाले खेतीबाली नष्ट


1.1k
Shares

म्याग्दी । जिल्लाको विभिन्न स्थानमा शनिवार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिकासहित रघुगंगा र मंगला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।

रघुगंगाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मंगलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो । भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगंगा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ । हावाहुरीसँगै असिनापानी परेको थियो । सुन्तला जातका फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मंगला–३ बरङ्जाका कृष्णलाल सापकोटाले बताए ।

क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण संकलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्