Logo
Logo

अर्थमन्त्री ‘मुसा’, पूर्वप्रधानमन्त्री विदेशी पानी खाने !


16.6k
Shares

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन लागेको भन्दै सरकारको आलोचना हुने गरेको छ । मुख्यतः अर्थमन्त्री जनार्दन शर्माको बढि आलोचना हुने गरेको छ ।

अर्थतन्त्र संकटमा परेको चर्चा चलिरहेकै बेला सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी कारवाही गरेपछि त झनै अर्थतन्त्रको विषय बहसमा आयो । सरकारी पक्षले अर्थतन्त्रमा त्यस्तो ठूलो खतरा नरहेको भनिरहेका छ । प्रमुख प्रतिपक्षी दलले भने यस विषयलाई सरकारविरुद्ध भाषण गर्ने विषय बनाएको छ ।

अर्थतन्त्रको विषयमा जारी सकारात्मक बहसले अर्थतन्त्र सुधारमा भूमिका खेल्ने कुरामा सम्बन्धित सबै आशावादी रहेता पनि नेताहरुबीच अनाहकको आरोप प्रत्यारोप र व्यक्तिगत लान्छना स्तरमा हुने अमर्यादित गतिविधिले भने परिस्थिति जटिलतातर्फ मोडिनसक्ने आशंकाहरु उब्जाएको छ ।

अर्थतन्त्र डामाडोल पारेको भन्दै सरकारले गभर्नरलाई कारबाही गर्यो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री शर्मालाई ‘मुसा’सम्म भन्न भ्याए ।

ओलीले अर्थमन्त्री शर्मालाई मुसासँग तुलना गर्दै भनेका थिए–‘जुङ्गा भएको मुसाले धान खान्छ, भ्यागुतालाई कारबाही भयो ।’ ओलीले अर्थमन्त्री शर्मालाई मुसासँग तुलना गर्दै अर्थमन्त्रीले गरेको गल्तीको सजाय गभर्नरलाई दिइएको भन्न खोजेका थिए ।
ओलीले त्यति मात्र भनेनन् । देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको समेत भन्न भ्याए । त्यतिमै ओली रोकिएनन्, केही दिनदेखि वृद्ध भत्तासमेत दिन सकिन्नसम्म भने । एमालेले पूर्वअर्थमन्त्रीहरु राखेर पत्रकार सम्मेलन नै गर्यो । पत्रकार सम्मेलनमार्फत पनि एमालेले देशको अर्थतन्त्र श्रीसंकाकै जस्तो बन्न लाग्यो भनेको थियो ।

चौतर्फी आलोचना र चिन्ता व्यक्त भएपछि अर्थमन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर हल्ला गरिए जस्तो देशको अर्थतन्त्र संकटमा नरहेको बताएको छ ।

पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री शर्माले ‘वृद्ध भत्तासमेत दिन नसकिने दिन आउँन लाग्यो’ भन्ने ओलीको अभिव्यक्ति अफवाह मात्र भएको बताए । तर, अर्थमन्त्री शर्मा त्यतिमा रोकिएनन् । ओलीलाई विदेशी पानी खाएर हुर्किएको भन्दै गम्भीर आरोप लगाउनसम्म भ्याए ।

अर्थमन्त्री शर्माले ओलीको नाम नलिइ भने- ‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने…भन्न सकिन्छ । यो अफवाह मात्र हो ।’

अर्थमन्त्री शर्मा पनि त्यतिकैमा रोकिएनन् । देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन लाग्यो भन्नुलाई राष्ट्रघात नै भन्न भ्याए । शर्माले भने- ‘अफवाहहरुलाई जोडेर देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिएको छ । यो राष्ट्रघात हो । श्रीलंका बनाउन किन चासो भइरहेको छ ? अचम्म लाग्छ ।’

पछिल्ला आर्थिक गतिविधि हेर्दा देशमा आर्थिक संकट छैन भन्न सकिन्न । सरकारले कतिपय आयातमा रोक लगाइसकेको छ । राष्ट्र बैंकमा विदेशी मुद्रा छैन । अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय आर्थिक गतिविधि ठप्प छ । तर, अर्थतन्त्रमा देखिएको संकट जस्तो संवेशनशील विषयलाई राजनीतिक नेतृत्वले भने जुँङ्गाको लडाइँ बनाउनु गलत रहेको अर्थविद्हरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्