काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा (देउवा)ले निर्वाचन आयोगले गरेको निर्णयप्रति आपत्ति प्रकट गरेकी छन् । स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनी यसअघि गरेको निर्णय आयोगले खारेज गरेको छ ।
आयोगले उक्त निर्णय खारेज गरेकोप्रति प्रधानमन्त्री पत्नी आरजुले आपत्ति जनाएकी हुन् । राजनीतिक दलहरूले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण नै गराएपछि आयोगले मंगलवार सो निर्णय सच्याएको थियो । तर, उनले नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको बताएकी छन् । उनले यो निर्णय सच्याउन मागसमेत गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’














