काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरूको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसारकै सङ्ग्रहको रूपमा रहेको समीक्षक तथा लेखकहरूबाट प्रतिक्रिया आएको छ ।

जनसांस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरूबीच भएको ‘नयाँ युगको पदचापः पुस्तक परिचर्चा’का क्रममा उनीहरूले नाम अनुसारका सामग्रीहरू किताबमा समेटिएको बताए ।
जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मातृका पोखरेलले मान्छे बनावटी कामलाई प्रचार गरिरहेको सन्दर्भमा तत्कालीन समयमा भएका यथार्थ कुरा जनतासामु पुग्न नसकेको पुस्तकमा समावेश आलेखहरूले स्पष्ट पारेको बताए ।
उनले उपलब्धिलाई संस्थागत गर्न नसकिको जिकिरसहित पुस्तकको नाम जस्तै सामग्रीहरू पुस्तकमा समेटेको बताए । विशेषगरी अध्यक्ष दाहाल दुईपटक प्रधानमन्त्री हुँदा बोलेका विचारहरूको सङ्गालोका रूपमा पुस्तक आएको र त्यसले समग्र आन्दोलन र त्यसले ल्याएको उपलब्धि बोलेको उनको भनाइ थियो ।
पुस्तकमाथि विचार राख्दै समालोचक तेजविलास अधिकारीले महत्वपूर्ण आधार स्थापना गरेर उपलब्धिलाई सैद्धान्तिक र कार्यनीतिगत कोणबाट अगाडि बढाउने व्यक्ति अध्यक्ष दाहाल हो भन्ने कुरा ६० वटा लेखले स्पष्ट पारेको बताए।
उनका अनुसार पुस्तकमा दाहाल गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदाका १५ र दोस्रो सरकारको नेतृत्व गर्दा सम्बोधन गरिएका भाषणका ४६ आलेख समावेश छन् । उनले त्यसमा १० वर्षे जनयुद्ध, त्यसपछिका सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, समावेशीकरणका लागि भएको अन्तरसङ्घर्ष र उपलब्धिलाई पुस्तकमा समावेश गरिएको सुनाए ।
‘आन्तरिक र बाह्य शक्तिबीचको खिचातानीले समीकरण अदलबदल हुने स्थिति आयो, त्यो कुरा यहाँ पाइन्छ’, उनले भने, ‘त्यस अलावा हलिया प्रथा हटाउनेदेखि कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालय खोल्ने, सातै प्रदेशमा कृषि क्याम्पस खुलाउने, राजस्व वृद्धि र कृषि विकासमा गरिएका प्रयत्न केके रहे भन्ने कुरा स्पष्ट पाइन्छ ।’
पुस्तकमा सीमित उपलब्धिहरू बुँदागतरूपमै समावेश गरिएको छ । आज मुलुकमा जेजे काम भइरहेको छ, चर्चा भइरहेको छ, त्यो कुरालाई यो पुस्तकमा राम्रोसँग उल्लेख गरिएको छ । उनले पहिले नै स्थापित गरिसकेको र आज हामीले एजेण्डा खोजिरहँदा ती एजेण्डा त्यहीँ रहेको पनि बताए ।
‘पुस्तक केवलमा भाषणको लेख मात्रै छैन, इतिहासलाई हेरेर वर्तमानलाई कसरी सुधार गर्ने भन्ने विषय पनि मजाले पाउन सकिन्छ’, समालोचक अधिकारीले थपे ।
अर्का समालोचक प्रा डा धनप्रसाद सुवेदी पुस्तकलाई भाषणको सङ्ग्रहका रूपमा मात्रै लिनु गलत हुने भनाइ राख्नुभयो । उहाँ पुस्तकमा जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण र त्यसक्रममा देखापरेका जटिलता एवं अन्तरसङ्घर्ष पाउन सकिने बताउनुहुन्छ ।
सुवेदीका अनुसार शुरुको ‘फेज’मा अध्यक्ष दाहालका तीव्र आवेगसहितको अभिव्यक्ति मिसिएको देखिन्छ भने त्यसपछि अगाडि बढ्न खोज्दा देशी–विदेशी शक्तिबाट यथास्थितिमा रोक्ने प्रयत्न भएको आलेखबाट थाहा हुन्छ । पुस्तकमा समाजवादका भ्रुणहरू यथेष्ट रहेका पनि उनले औँल्याए।














