काठमाडौं । पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्वकांक्षी प्रोजेक्टको विधिवत थालनी गरेको छ । नर्भिक अस्पतालले आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रुपमा आजदेखि थालेको हो ।

नयाँ वर्षको शुभमूहुर्तमा ८ तले अत्याधुनिक अस्पताल भवनको निर्माण थालिएको छ । हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । नेपालमा आधुनिक स्वास्थ्य सेवाको जग बसालेको श्रेय पाउने गरेको नर्भिकको २९ औं वार्षिकोत्सवसमेत आज अर्थात वैशाख १ गते नै हो । वार्षिकोत्सवको अवसर पारेर भवन निर्माण कार्यको सुरुवात गरिएको मिश्रले बताए ।
अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिले पाएको छ । अबको एक वर्षभित्र भवन संरचना नर्भिकलाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । कूल १ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधा सम्पन्न हुने बताइएको छ ।














