काठमाडौं । काठमाडौंको बेसिगाउँमा बसले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बसको ठक्करबाट स्कुटरमा सवार ओखलढुंगाका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो । बौद्ध प्रहरीका अनुसार ठक्करबाट घाइते भएका उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो पौने ४ बजे मृत्यु भएको हो । बसले ठक्कर दिँदा घाइते भएका स्कुटर चालक र स्कुटरको पछाडि सवार दुई जनाको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको जनाइएको छ ।
जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई हिजो मध्याह्न ठक्कर दिएको थियो । बस चालक र बसलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।














